वीपी जयन्तीमा तरुण दलले बाड्यो स्वास्थ्य सामग्री

काठमाडौं : १०७ औं वीपी जयन्तीको अवसरमा बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नेपाल तरुण दलले स्वास्थ्यकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) अन्तर्गत हाडजोर्नी विभागमै पुगेर एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड प्रदान गरेको थियो ।
यसैगरी बुधबार विहान नै वीर अस्पतालअन्तर्गत नाक, कान र घाटी विभागमा पुगेर एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड हस्तान्तरण गरेको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतलगायतको उपस्थिति रहेको थियो ।


‘अहिले कोभिड–१९ को जोखिम दिनप्रति दिन बढिरहँदा यो अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले काम गरिरहनु भएको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै स्वास्थ्यकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ’, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य सामग्री नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलगायतले सहयोग गरेका थिए ।


नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पु¥याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर संघर्ष गरेका वीपी कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिव किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए ।
भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न वि.सं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।


क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गराएका थिए ।
वि.सं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । वि.सं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिँदै आएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments