कीर्तिपुरका विभिन्न स्थानमा घुम्ती रक्तदान कार्यक्रम

काठमाडौं : नेपाल रेडक्रस समाज कीर्तिपुर उपशाखा, ब्लोदान कीर्तिपुर नगर समिति र नयाँ बजार क्लब कीर्तिपुरको संयुक्त आयोजनामा तीन दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण रगतको चरम अभाव भएपछि विभिन्न संस्थाको संयुक्त प्रयासमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । तीन दिनसम्म कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा घुम्ती रक्तदान कार्यक्रममा तीन सय दुई जनाले रक्तदान गरेका थिए ।
लगातनारको निषेधाज्ञाका कारण रगतको चरम अभाव देखिएपछि हामीले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हौं’, नेपाल रेडक्रस समाज कीर्तिपुर उपशाखाका सदस्य एवं ब्लोदान कीर्तिपुर नगर समितिका उपाध्यक्ष मुरारी विष्टले भने, ‘सबैको सहयोगले कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न सफल भयौं ।’


उनका अनुसार तीन दिनभित्र कीर्तिपुर नगरपालिकाका नौ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। जारी निषेधाज्ञाको समयमा पनि रक्तदाताहरुले स्वतःस्फुर्त रुपमा रक्तदान कार्यक्रममा सहभागी भएका थिए।
‘घुम्ती रक्तदान हामीले सोचभन्दा पनि सफल रुपमा सम्पन्न भयो । रक्तदान कार्यक्रममा २३६ पुरूष र ६६ महिला गरी ३०२ जना स्वयंसेवीले रक्तदान गर्नु भयो’, विष्टले भने।

रक्तदान कार्यक्रम कीर्तिपुर नगरपालिकाको ज्वालादेवी, भत्केपाटी, सल्यानस्थान, पाँगा, सोह्रखुट्टे, चिठु बिहार, जलविनायक, टौदह र छाप लनगोलमा सञ्चालन गरिएको थियो । जसमा स्थानीयले उत्साहजनक रुपमा उपस्थिति जनाएका थिए।

तीन दिन रक्तदान कार्यक्रमा गरेर संकलन गरेको ३०२ पिन्ट रगत ललितपुर र भक्तपुर ब्लड बैंकलाई बुझाइएको छ। रक्तदाताहरुलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो।

‘निषेधाज्ञाका कारण रगतको चरम हुँदा विरामीको शल्यक्रिया हुन नसकेको समाचार आएपछि हामीलाई गम्भीर बनायो’, विष्ट भन्छन्, ‘यस्तो समयमा हामीले केही गर्नुपर्छ भनेर रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरेर सम्बन्धित निकायलाई बुझाएका हौं ।’
घुम्ती रक्तदान कार्यक्रमलाई कीर्तिपुर नगरपालिकाले पनि सघाएको थियो।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments