खस क्षत्रीमाथिको आक्रमण विदेशी इशारामा : क्षत्री समाज

काठमाडौं : क्षत्री समाज नेपालले केही दिन अघि नेपालको राष्ट्रिय झण्डा जलाउनु तथा खस क्षत्री र बाहुन समुदायमाथि धावा बोलिनु विदेशीको इशारा र लगानीमा भएको ठहर गरेको छ ।
क्षत्री समाज नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै ‘मंगोल नेसनल अर्गनाइजेसन’ ले खस क्षत्री र बाहुन समुदायमाथि गाली गलौज गर्दै नेपालको राष्ट्रिय झण्डा जलाउने दुस्साहस गरेकोमा त्यसको घोर भत्र्सना गरेको छ ।
क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्री र महासचिव केशबहादुर केसीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा जातीय र साम्प्रदायिक सद्भाव भड्काउने जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
‘हजारौं वर्षदेखि यस भूमिमा रहेर यसको संरक्षण एवं नेपाली मौलिक सभ्यता र संस्कृतिमा श्रष्टा आदिमवासी खस क्षत्रीलाई आफूलाई मंगोलियाबाट आएको स्वघोषित गर्ने समुदायको नाममा अस्तित्वमा ल्याइएको तथाकथित संगठनको हवाला दिँदै खस क्षत्री बाहुनमाथि धावा बोलिनु विदेशीको इशारा र लगानीको उपज हो भन्ने समाजको ठहर छ’, विज्ञप्तिमा भनिएको छ । आगामी दिनमा पनि खस विदेशी इशारा र लगानीमा यस्तै किसिमका धावा बोलेमा खस क्षत्री समुदायलाई सह्य नहुने भन्दै त्यसको डटेर सामना गरिने जनाइएको छ । राष्ट्रिय झण्डा जलाएर नेपालको स्वाभिमानमाथि नै धावा बोल्दा पनि नेपालका राजनीतिक दलले मौनता साँधेर बस्नुलाई समाजले रहस्यका रुपमा हेरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसैगरी तराईमा खाना खाँदै गरेका निहत्था पुजारीको हत्याप्रति पनि समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल र नेपालीको स्वाभिमानमाथि धावा बोल्नेलाई कडाभन्दा कडा कारबाही नगरिए क्षत्री समाजले राजधानी काठमाडौंमा मात्रै नभई मुलुकभरि आन्दोलनको आँधिबेहरी ल्याउने क्षत्री समाज काठमाडौं जिल्ला अध्यक्ष एवं काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काले चेतावनी दिए । ‘राष्ट्रिय झण्डा जलाउनु राष्ट्रिय स्वाभिमानमाथिकै आक्रमण हो । राष्ट्रिय झण्डा जलाउने र खस क्षत्री र बाहुनमाथि गरिएको तथानाम गाली हामीलाई सह्य छैन’, अध्यक्ष रिजन खड्काले भने, ‘राष्ट्रिय एकता र जातीय सद्भाव कायम गर्न क्षत्रीहरु सदैव एकजुट भएर आँधिबेहरी ल्याएका छन् । आवश्यक परेमा जुनसुकै बेला आँधिबेहरी ल्याउन सक्छौं ।’

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments