कोरोनाले मृत्यु हुनेको संख्या ९५ पुग्यो, १६ हजार ८३७ डिस्चार्ज

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार संक्रमितको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीको मटिहानी नगरपालिका-६ का एक ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको हो। उनको रामजानकी अस्पतालमा मृत्युपछि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनी क्षयरोग र मधुमेहबाट पीडित थिए।

सँगै धनुषको मिथिला नगरपालिका-७ ढल्केबरकी ८५ वर्षीया महिलाको साउन २८ गते मृत्यु भएको छ। उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनी निमोनिया, खोकी र स्वासप्रश्वासको समस्याबाट ग्रसित भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी अछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षीय युवककोसमेत कोरोनाले मृत्यु भएको छ। उनको साउन २८ गते ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो। उनी मुटु रोगी थिए।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको साउन २८ गते कोशी अस्पतालमा मृत्यु भएको हो। उनी मधुमेह र उच्च रक्तचाप पीडित थिए।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै १३८ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै  बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो ।

बुधबार मात्रै ४८४ जनामा कोरोना संक्रमण देखिएको थियो।यस्तै सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ। मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन्। क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments