काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्।
अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।
पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो। विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो। यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो।
महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठनका साथै पूर्णता दिने काम थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। असन्तुष्ट समूहले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिनुका साथै सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराएको थियो।
पदाधिकारी बैठकको सुरुमै महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको अन्तरिम संरचना समायोजनको काम, भ्रातृसंस्थाको समयावधि थप, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधनलगायतका विषयमा स्पष्ट पारेका थिए। बैठकमा क्रियाशील सदस्यता छानबिन समिति गठनबारे छलफल भए पनि टुंगो भने लाग्न सकेन। कांग्रेस विधानले सभापतिलाई समिति गठनको अधिकार दिएको छ।
सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकमा संयोजक तोक्ने बताएका छन्। साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समिति सदस्यको नाम मागेका छन्।