ज्वालाले बचाउलान् राष्ट्रिय तेक्वान्दो ?

काठमाडौं : नेपाली खेलकुदको एउटा पर्याय हो, विवाद । साढे पाँच दशक पार गरेको नेपाली खेलकुद अधिकांश समय विवादकै भुमरीमा परिरह्यो । नेपाली खेलकुदले अपेक्षाकृत सफलता हासिल गर्न नसक्नुको पछाडि यही विवाद कारक भएको खेल विज्ञहरु औंल्याउँदै आएका छन् ।
लामो समय यस्तै विवादको पर्याय बन्दै आएका शिव कोइराला उर्फ ज्वाला नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वमा आएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ज्वालालाई राखेपको उपाध्यक्षमा नियुक्त गरेको हो ।
ज्वाला विवादित राष्ट्रिय तेक्वान्दो संघ (युनियन) का अध्यक्ष पनि हुन् । राष्ट्रिय तेक्वान्दो संघ जस्केलाबाट दर्ता गरिएको संघ हो । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो आदेशमा राखेपका तत्कालिन सदस्यसचिव युवराज लामाले विवादित संघ दर्ता गरेका थिए ।
खेलकुद विकास ऐन २०४८ मा एकै प्रकृतिका खेलका दुई संघ दर्ता नहुने स्पष्ट प्रावधान हुँदाहुँदै पनि युवराज लामाले प्रधानमन्त्रीको दबाबमा राष्ट्रिय तेक्वान्दो संघ दर्ता गरेका थिए । नेपाल तेक्वान्दो संघको समानान्तर संघका रुपमा दर्ता भएदेखि नै त्यो विवादको भुमरीमा पर्दै आएको छ । चार वर्षे कार्यकाल पूरा गर्दै राखेपबाट बाहिरिएपछि युवराज लामाले ‘समानान्तर तेक्वान्दो संघ दर्ता गर्नु आफ्नो महाभुल’ भएको बताएका थिए । उनले आफ्नो पद जोगाउन समानान्तर संघ दर्ता गरेर नेपाली खेलकुदमा विवादको बीउ रोप्ने काम गरेका थिए, जुन कुरा उनले चार वर्षे कार्यकाल पूरा गरेर राखेपबाट बर्हिगन भएपछि मात्रै बुझे ।
आफ्नो पार्टीको सरकार भएका बेला दबाबमा दर्ता गरिएको राष्ट्रिय तेक्वान्दो संघले पटक पटक बखेडा झिक्ने मात्र होइन, राष्ट्रिय ढुकुटी पनि रित्याउने काम गरेको छ । राष्ट्रिय प्रतियोगितामा जिल्ला छनोटसम्म पार गर्न नसकेका खेलाडीलाई दुई वर्ष अघि इन्डोनेसियामा आयोजना भएको एसियाली खेलकुदका लागि भन्दै बन्द प्रशिक्षणमा राखिएको थियो । उनीहरुले एसियन गेम्स खेल्न नपाउने थाहा पाउँदा पाउँदै बन्द प्रशिक्षणमा राखेर लाखौं रुपैयाँ दुरुपयोग गरिएको थियो । त्योभन्दा चार वर्ष अगाडि भएको इन्चोड एसियाडमा पनि राष्ट्रिय तेक्वान्दो संघका एक खेलाडीलाई कोरिया पु¥याइएको थियो । उनी खेल्नभन्दा पनि कोरिया घुम्न त्यहाँ पुगेका थिए ।
अझ रोचक त छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका समयमा भएको थियो । माओवादीको दबाबमा तत्कालिन सदस्यसचिव युवराज लामाले राष्ट्रिय तेक्वान्दो संघका खेलाडीका लागि मात्र छुट्टै खेल समावेश गरेका थिए । सुरुमा प्रदर्शन खेलका रुपमा समावेश गरिए पनि पछि पदक नै गणना गरिएको थियो ।
२०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भने दुवै संघका खेलाडीको छनोट गरिएको थियो । राष्ट्रिय तेक्वान्दो संघका कुनै पनि खेलाडीले जिल्ला छनोट नै पार गर्न सकेनन् । राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला छनोट नै पार गर्न नसकेका खेलाडीलाई १८औं एसियाली खेलकुदका लागि भनेर बन्द प्रशिक्षणमा राखिएको थियो ।
यसरी गठन भयो राष्ट्रिय तेक्वान्दो संघ
राष्ट्रिय तेक्वान्दो संघ केही व्यक्तिको पदलोलुप्ताका कारण गठन भएको संगठन हो । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष कविराज खड्गी भएका बेला शैलेन्द्र अमात्य र राजकुमार कार्कीले माओवादीसम्बद्ध गणतान्त्रिक खेलकुद संघको छुट्टै डोजाङ हुनुपर्ने माग राखेका थिए । उनीहरुको माग जिल्ला नेतृत्वले नमानेपछि शैलेन्द्र अमात्यको अध्यक्षमा केही डोजाङहरु सम्मिलित ‘तेक्वान्दो युनियन’ गठन गरिएको थियो ।
युनियनको हेडक्वार्टर अमेरिकामा रहेको भनेर हल्ला फिजाइएको थियो । तर, राष्ट्रिय तेक्वान्दो संघको हेडक्वार्टर अमेरिकाको कुन ठाउँमा छ, अहिलेसम्म कसैले थाहा पाउन सकेका छैनन् । राष्ट्रिय तेक्वान्दो संघले ‘कुकिवान’को भने सदस्यता लिएको छ । तेक्वान्दोको चौथो डान लिएका जोकोहीले ग्रेडिङ लिने र सर्टिफिकेटका लागि कुकिवानमा सिफारिस गर्न सक्ने प्रावधान छ । त्यसैले कुकिवानको सदस्यताले राष्ट्रिय तेक्वान्दो संघलाई बचाउन सक्ने देखिएको छैन ।
नयाँ ऐन अनुसार जुन संघका नाममा अन्तर्राष्ट्रिय मान्यता छ, त्यसैले आधिकारिकता पाउने प्रावधान छ । राष्ट्रिय तेक्वान्दोको अन्तर्राष्ट्रिय हेडक्वार्टर नै कुन हो भन्ने एकिन छैन । अर्को कुरा नेपाल तेक्वान्दो संघसँग ‘मर्ज’ हुन पनि समस्या देखिएको छ । सुरुमै तेक्वान्दोभन्दा फरक खेलका रुपमा दर्ता भएको राष्ट्रिय तेक्वान्दो संघलाई कुन आधारमा टिकिरहन्छ र ज्वालाले त्यसलाई बचाउन के कस्ता रणनीति अपनाउँछन्, त्यो आगामी दिनमा देखिने नै छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments