काठमाडौं : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनिलबहादुर थापा सहित १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका हुन् ।
थापासहितका नेतालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर स्वागत गरेका हुन् । नेता निधिले थापालाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै उनको खुलेर प्रशंसा गरे । सभापति देउवाले थापालाई सहमहामन्त्रीको रुपमा पार्टीमा स्वागत गरेको उल्लेख गरे । मंगलबार कांग्रेस प्रवेश गरेका थापा सहमहामन्त्री बन्दा पाँच नेतालाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यको रुपमा पार्टीमा स्वागत गरेका हुन् ।
थापासँगै राप्रपाबाट कांग्रेस प्रवेश गर्नेहरुमा रामकृष्ण भट्टराई (मोरङ), विश्वविक्रम थापा, बाबुराम बस्नेत (भोजपुर), वृषलाल यादव (बारा), दिलिप राई (झापा), राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), चतुरमान विश्वकर्मा (झापा), राम साह (सर्लाही), डा. सुरेश बस्नेत (भोजपुर), प्रतिमा राणा क्षेत्री (रुपन्देही), नारायण राउत (भोजपुर), इन्द्रबहादुर तामाङ (सिन्धुपाल्चोक) रहेका छन्। अन्य नेताहरुलाई जिल्लामा स्वागत गरेर पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।
नेता थापाले पार्टी प्रवेश गरेपछि कांग्रेससँग टुटेको नाता फेरि जोड्न लागेको बताए । यस अवसरमा आफूलाई गौरव महसुस भएको प्रतिक्रिया दिए । उनले अन्य थुर्पै साथीहरु पनि कांग्रेस प्रवेश गर्न आतुर रहेको र आज बिहान मात्रै धेरै साथीहरुले फोन गरेको प्रतिक्रिया दिए।
आफूहरु बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र सूर्यबहादुर थापाको परिवर्तनलाई आत्मसात गर्ने विचारको संगममा खडा भएर कांग्रेसमा प्रवेश गरेको पनि थापाले बताए । थापाले राप्रपा छाडेर जान नहुने सुझावका बावजुद कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।
दोस्रो संविधान सभाको चुनावमा थापालाई धनकुटा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । थापा चुनावमा विजयी भएर दुई पटक मन्त्रीसमेत भइसकेका छन् ।
दोस्रो संविधान सभाको चुनाव पछि ज्येष्ठ नागरिकको हैसियतले संविधान सभाको सभामुख उनकै बुवा सूर्यबहादुर थापा भए। बुवा सँगै पार्लियामेन्टमा छिरेका थापाले उनी मन्त्रीहुँदा बुवाबाटै शपथ लिए । सुनिल सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्ज तथा आपूर्तिमन्त्री भए। यस्तै उनी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भए।
राजनीतिमा आउनुअघि थापाले २२ वर्ष शरणार्थी विकास र मानवीय सहायताका लागि काम गरे । उनले ११ वटा द्वन्द्वग्रस्त देशमा काम गरिसकेका छन् । सन् २०११ मा राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर) अन्तर्गत सुडानमा कार्यरत रहेको बेला देशको सेवा गर्न राष्ट्र संघअन्तर्गतको आकर्षक जागिर छोडेर राजनीतिमा हाम्फालेका हुन । राजनीतिमा प्रवेश गरेसँगै उनले आफ्नो अनुभव देश विकास र निर्माण कार्यमा लगाउने बताउँदै आएका छन् ।
थापाले राष्ट्रसंघीय उच्च आयोगबाट जागिर छोडेर आएपछि सन् २०१२ देखि २०१५ सम्म बुवा संगै बसेर राजनीति गरे। उनका बुवा सूर्यबहादुर थापाको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा २०७२ वैशाख २ गते निधन भएको थियो। उनका बुवा धनकुटा जिल्लाको मुगामा जन्मिए थिए। सूर्यबहादुर पटक–पटक गरेर पाँच ५ पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।
राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र गरेर उनले तीन राजाको शासनकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । थापा दोस्रो संविधान सभाको चुनाव पछि जेष्ठ सदस्यको रुपमा संविधान सभाको सभामुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।
कांग्रेसमा कांग्रेस प्रवेश गर्नुअघि राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई थापासहित ३१ जनाले गत शनिबार राजीनामा बुझाएका थिए।

नेपालमाला
