अमिताभ बच्चन र अनुपम खेरको परिवारलाई नै कोरोना : प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य लाभको कामना

काठमाडौं :बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र अनुपम खेरको परिवारलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । अभिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या राय र नातिनी आराध्यामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । उनको श्रीमती जयाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसअघि शनिबार अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ ।
ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देश मार्फत यसबारे जानकारी दिएका हुन् । कोरोना पोजेटिभ देखिएपछि अमिताभ र अभिषेक उपचारका लागि अस्पताल भर्ना भएका छन् भने ऐश्वर्या र आराध्या होम आइसोलेसनमा बसेको जनाइएको छ ।
यसैगरी अर्का चर्चित बलिउड कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अनुपम खेरको आमा, दाजु र भाउजुमा पनि कोरोना संक्रमण भएको जनाइएको छ ।
बलिउडका चर्चित कलाकार अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यलाई लिएर संसारभर चिन्ता व्यक्त गरिएको छ । सबैले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बलिउड कलाकारको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले आइतबार ट्विटरमा ट्विट गर्दै कोरोना संक्रमित अमिताभलगायत सबै कलाकारको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments