सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकामा नेकपा : प्रमुख विपक्षी दल कांग्रेस कता ?

मदन बस्नेत

संसद अधिवेशन चलिरहेकै बेला सभामुख, सरकारका बहालवाला मन्त्रीहरू र प्रमुख प्रतिपक्षी दल कसैलाई पनि सुइँकोसमेत नै नदिई संसदको अधिवेशन हठात् अन्त्य गर्ने प्रधानमन्त्री ओली र बिना सोच बिचार वायुवेगमा प्रधानमन्त्रीको त्यस्तो लोकतन्त्र विरोधी कदमलाई सदर गर्ने राष्ट्रपतिको विरुद्धमा कांग्रेसले जुन तह र स्तरबाट विरोध जनाउनु पर्ने हो, त्यसो गर्न सकेन । बक्तब्यबाजी गरेर झारा टार्दै चुपचाप बसिरहेको छ ।
सत्ता घटक दलभित्रैबाट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, कोरोनाको ब्यवस्थापन राम्ररी गर्न नसकेको, जनताको दैनन्दिनको समस्याप्रती सरकार उदासिन बनेको, जिम्मेवार पद र हैसियतमा बसेर कुटनीतिक मर्यादाको बर्खिलाप छिमेकी मुलुकलाई लक्षित गरेर तथानाम गालिगलौच गरेर चिड्याउने काम गरेको, कमिसन र आर्थिक लेनदेनमा बहालवाला मन्त्रीहरू नै मोलमोलाई गर्दै हिंडेको, संविधानको मर्म र भावनाविपरीत राजनीतिक दल विभाजन र संवैधानिक निकायको नियुक्तिमा प्रतिपक्षीको भूमिकालाई निषेध गर्ने गरी अध्यादेश ल्याएको, संविधानको संरक्षक बन्नु पर्ने राष्ट्र प्रमुखको हैसियतको राष्ट्रपतिलाई आफ्नो स्वार्थ अनुरुप हिँडाएकोलगायतका अनेकन सवालहरु सरकारविरुद्ध उठाइएको छ र प्रधानमन्त्रीको राजीनामा मागिएको छ ।
तर बिडम्बना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाको त्यो असन्तुष्ट पक्षको जति पनि हुति देखाउन सकेको छैन । ‘इनफ इज इनफ’ को नारा बोकेर देशभरका युवा शक्ति सामाजिक सञ्जालका माध्यमबाट ओली सरकारविरुद्ध देशब्यापी प्रदर्शनमा उत्रिँदा समेत राष्ट्रव्यापी संगठन र लाखौं क्रियाशिल सदस्य भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अझै हात बाँधेरै बसिरहेको छ ।
प्रचण्ड बहुमतको नेकपा सरकारले विकासको नाममा मजाक र कोरोना नियन्त्रणको बहानाबाजीमा पाखण्ड प्रदर्शन गरिरहँदा सरकारको त्यस्तो जनविरोधी हर्कतका विरुद्धमा खबरदारी गर्नु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कहाँ छ ? के गर्दै छ ? के हेरेर बसिरहेको छ ? दिउँसै बत्ती बालेर खोज्नु पर्ने स्थिति पैदा भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको मोहपासमा फेरि पनि नराम्रोसँग फस्दै गएको देखिन्छ र आफ्ना दुई चार जना आसेपासेको राजनीति नियुक्तिको लालसामा उनी प्रधानमन्त्री ओलीले गरेका लोकतन्त्र विरोधी निर्णयविरुद्ध आँखा चिम्लिएरै बसेको स्थिति छ ।
प्रमुख प्रतिपक्षी दललेजस्तो भूमिका निभाउनु पर्ने हो र सरकारका गलत निर्णयविरुद्ध जसरी जोडदार रुपमा विरोध जनाउनु पर्ने हो, कांग्रेस त्यसमा नराम्ररी चुकेको छ । कांग्रेसले खेल्नु पर्ने प्रतिपक्षीको भूमिका बरु सत्तारुढ घटककै असन्तुष्ट खेमाले बखुबी निभाइरहेका छन् । तर, कांग्रेस भने अझै मुकदर्शक बनेर बसिरहेको छ ।
मुलुक यतिबेला कोरोनाले ग्रस्त छ । सरकारले भारतको नक्कल गरेर हठात लादेको लकडाउनले कोरोना नियन्त्रणमा त आएन नै, बरु उल्टै सर्वसाधरण जनताको जनजीवन कष्टकर बनाएको छ । रोजीरोटीको जुगाड गर्न घरखेत बन्धकी राखेर विदेसिएका लाखौं नेपाली जनताको कन्तबिजोग भएको छ । उद्वारको नाममा विदेशमा अलपत्र आफ्ना नागरिकमाथि भेदभाव मात्र गरिएको छैन, चार्टर भनेर चौबर भाडा असुलेर दिनदहाडै ठग्ने काम पनि गरिएको छ ।
स्वास्थ्य सामग्रीको खरिद र क्वारेन्टाइन ब्यवस्थापनमा सरकार नराम्ररी चुकेको छ भने सम्बन्धित मन्त्रालय र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको खुलासा सत्तारुढ दलभित्रकै नेताहरुबाट गरिएको स्थिति छ । सरकारको कमजोर ब्यवस्थापन र लापरवाहीपनले शून्य संक्रमितको अवस्थामा सुरु गरिएको लकडाउन ३५ जनाको मृत्यु र १६ हजारभन्दा बढी संक्रमित भएको अवस्थामा पुगेको छ ।
जनताले झेल्नु परेको यस्तो विषम् परिस्थितिका बारेमा गम्भीर हुनु पर्ने सरकार र सत्तापक्षीय दल व्यक्तिगत लाभ हानी र पदीय स्वार्थमा लिप्त हुन थालेपछि सरकारद्वारा घोषित लकडाउन जनताबाटै अवज्ञा हुन थालेको छ ।
ब्यवसाय ठप्प छ । उद्योगधन्दा बन्द छन् । विद्यालय र कलेजहरु अझै खुलेका छैनन् । लाखौं जनताको रोजगारी गुमेको छ र बेखर्ची भएका कारण उनीहरु के खाने र कसरी गुजारा चलाउने भन्ने पीर र सन्तापले ग्रस्त छन् । जनताले भोग्नु परेको यस्तो बिषम् परिस्थितिमा जनतालाई राहत दिनु पर्ने र उनीहरुको आत्मबल बढाउने दायित्व बोकेका प्रधानमन्त्री हाँस्य कलाकारहरुलाई नै माथ दिने गरी बेला कुबेला, ठाउँ कुठाउँ हँसी मजाक गर्दै हिँडिरहेका छन् ।
सरकारको हरेक क्रियाकलापलाई सुक्ष्म रुपमा निगरानी गर्ने र त्यसको गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापकाविरुद्ध प्रभावकारी ढंगले खबरदारी गर्न सकेको छैन । जनता आफै स्वतस्फूर्त रुपमा सरकारको विरोधमा सडकमा उत्रिँदा समेत कांग्रेस मुखमा दही जमाएर बसिरहेको छ ।
हो, पार्टीको अधिवेशन समयमै गर्नु पर्छ । त्यसको आवश्यक तयारीमा जुट्न पार्टीमा बैठक र छलफल पनि चलाउनु पर्छ । तर, अहिलेको अवस्था पार्टीको महाधिवेशनमा केन्द्रित हुने बेला हो कि कोरोनाका कारण जनताले भोग्नु परेको महामारीको सामाना कसरी गर्ने र सरकारको गलत नीति र निर्णयकाविरुद्ध जनता सामु कसरी प्रस्तुत हुने भन्ने सवालमा घोत्लिने बेला हो ? कांग्रेसले प्राथमिकता निर्धारणमा नै गम्भीर त्रुटी गरेको छ ।
यस्तो अवस्थामा यदि नेकपाको ओली सरकारको ठाउँमा कांग्रेसको सरकार भइदिएको भए प्रधानमन्त्रीको राजीनामाको एकसूत्रीय माग राखेर नेकपाले देशव्यापी आन्दोलन छेडिसकेको हुने थियो । राँके जुलुस, चक्का जाम, नेपाल बन्दलगायतका विरोधका अनेकन विधि र ब्यवधान खडा गरेर सरकारको विरोधमा सदन र सडकमा बितण्डा मच्चाइसकेको हुने थियो ।
तर, कांग्रेस ओली सरकारकाविरुद्ध अन्दोलित हुने भन्दा पनि नेकपाको घर झगडाले उनीहरुमा कहिले फुट आउला र सरकारमा जान पाइएला भनेर खुट्टा उचालेर बसिरहेको छ ।
‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै जसको विरोध गर्नु पर्ने हो उसैसँग बिना अर्थको वार्ता र सम्वाद गर्दै बालुवाटारमा प्रधानमन्त्रीसँग चोचोमोचो मिलाउँदै हिँड्ने कांगेस सभापति शेरबहादुर देउवाको कार्यशैलीले कांग्रेसको प्रतिपक्षी भूमिका ‘न हाँसको चाल, न त बकुल्लाको चाल’ भने जस्तो बेढंगी बनेको छ ।
नेकपाको घर झगडा राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकासँग सम्बन्धित झगडा हुँदै होइन, व्यक्तिगत इगो र पदीय स्वार्थले निम्त्याएको पद पाउने र नपाउनेबीचको कुर्सीको लडाइँ हो । फुट्दा दुवैको कुर्सी गुम्छ भन्ने हेक्का उनीहरु दुवै थरीलाई राम्ररी नै छ । त्यसैले एकले अर्कामाथि दबाब बढाउन र आ–आफ्नो पल्ला भारी पार्ने मनसायले रणनीतिक रुपमा सत्तापक्ष ओली र प्रचण्ड–माधवको अर्को पक्ष कांग्रेससँग वार्ता, संवाद र सहकार्यको नौटंकी गरिरहेका छन् ।
जनताले वर्तमानमा भोग्नु परेको तमाम समस्याहरुलाई पन्छ्याएर मधेसवादी दल जसपासँग मिलेर संसदको बिशेष अधिवेशन बोलाउने र नेकपाको असन्तुष्ट पक्षसँगको साँठगाँठमा ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सत्ता परिवर्तनको खेलमा कांग्रेसले सक्रिय भएको भन्ने पछिल्लो समाचारले लोकतन्त्रमा विश्वास राख्ने आम जनतालाई झनै बढी चिन्तित बनाएको छ ।
ओली र प्रचण्डबीच कुर्सीको भागबन्डा मिलेका दिन विगतमा झैं यसपटक पनि तिनै ओली र प्रचण्ड मिलेर कांग्रेसको हुर्मत लिने छन् । त्यसैले प्रचण्ड–माधव वा ओली कसैको मोहपासमा फसेर सत्ता स्वार्थमा मुख मिठ्याउनुभन्दा एउटा जिम्मेवार प्रतिपक्षीको भूमिकामा प्रस्तुत हुनु नै कांग्रेस र लोकतन्त्रकालागि स्वस्थकर सावित हुनेछ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments