सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, ५० प्रतिशत भाडा बढी तिर्नुपर्ने

काठमाडौं : सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् ।

सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो जनाकारी दिएका हुन् । सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् ।

मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ । ट्याक्सीको हकमा चालकबाहेक दुई जना मात्र चढ्न पाउने छन् ।

सरकारले सर्वाजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गरेको छ । सँगै यो निर्णय कार्यान्वयन हुँदासम्म ५० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब सार्वजनिक सवारी साधनमा चढ्दा अहिलेको भाडा भन्दा डबल पैसा तिर्नु पर्नेछ ।

लामो दूरीका सार्वजनिक सवारी साधनको विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments