अमेरिकावासी नेपालीको सहयोगी मन : जन्मभूमिप्रति निरन्तर सहयोग

काठमाडौं : अहिले सिंगो विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश मुलुकमा लकडाउन गरिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । कोरोना भाइरसबाट विश्वभर चार लाख २८ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने ७७ लाख ७५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
विश्वव्यापी संकटको यस घडीमा पनि प्रवासमा रहेका नेपालीले लगातार आफ्नो जन्मभूमिका लागि सहयोग जुटाउँदै आएका छन् । संकटको समयमा जन्मभूमिप्रति निरन्तर सहयोग जुटाउँदै आएका व्यक्तिमध्येका एक हुन्, पूर्णचन्द्र बानियाँ । गैरआवासीय नेपाली संघ क्यालिफोर्नियाका संस्थापक अध्यक्ष बानियाँको पहलमा अमेरिकाका विभिन्न राज्यका नेपालीको सहयोगमा कीर्तिपुर नगरपालिकाको कोरोना आकस्मिक कोषमा दुई लाख रुपैयाँ प्रदान गरिएको थियो भने ५० हजार रुपैयाँ निशुल्क खाना खुवाउने अभियानमा प्रदान गरिएको थियो । बाँकी रकम सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीका लागि खर्चिएको थियो ।


हालै पनि कुवेत र अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट निधन भएका नेपालीका परिवारका लागि पनि आर्थिक सहयोग उपलब्ध गराइएको छ । कीर्तिपुर–४ निवासी पूर्णचन्द्र बानियाँको पहलमा संकलित एक लाख ४१ हजारमध्ये एक लाख एक हजार कीर्तिपुर–५, पांगा निवासी विकास महर्जन र ४० हजार रुपैयाँ काठमाडौं–१० ढुंगेधारा निवासी राजकुमार थापाको परिवारलाई प्रदान गरिएको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेत र न्युयोर्कमा बस्दै आएका उनीहरुको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो । अमेरिकाका विभिन्न राज्यमा रहेका कीर्तिपुरवासीले उपलब्ध गराएको उक्त रकम शनिबार एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी काठमाडौं क्षेत्र नम्बर १० का संघीय सांसद राजेन्द्रकुमार केसीले महर्जन र थापाका परिवारलाई हस्तान्तरण गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पुकार महर्जन र कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँले कोरोना भाइरसका कारण अकालमै ज्यान गुमाएका विकास महर्जन र राजकुमार थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments