काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसमको बदलावसँगै कोरोना भाइरस संक्रमणको असरलाई नकारात्मक प्रभाव पार्ने प्रमाणहरू धेरै कम रहेको जनाएको छ । गर्मी मौसममा कोरोना संक्रमण फैलिँदैन भन्ने हल्ला धेरै भएपछि डब्ल्यूएचओले यसबारे स्पष्ट पारेको हो ।
‘हामी यस क्षणको लागि आशामा बस्न सक्दैनौं जुन मौसम परिवर्तन वा बढ्दो तापमान स्वयं भाइरसका लागि जवाफ हुन सक्छ’, विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले भने ।
उनले गर्मी मौसममा कोरोना भाइरस फैलिने अथवा नफैलिने भन्ने बारे डब्ल्यूएचओसँग कुनै प्रमाण नरहेको बताएका बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको महामारीको सुरुका दिनमा गर्मी मौसम सुरु हुन बित्तिकै कोरोना संक्रमण कम हुन्छ भनिँदै आएको थियो । तर अहिले जसरी कोरोना भाइरस फैलिरहेको छ गर्मी मौसममा यसको महामारी कम हुन्छ भन्ने विश्वास र दाबी स्वत कमजोर हुँदै गइरहेको छ ।
रायनले विश्वका धेरै देशमा स्वास्थ्य सामग्री पीपीई र परीक्षण किटको अभाव रहेको चर्चा गर्दै ती देशमा स्वास्थ्य सुरक्षाको अवस्था चिन्ताजनक रहेको बताए ।