काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत दुई सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि एक साता बढाएको छ । अब आगामी वैशाख ३ गतेसम्म मुलुक लकडाउनमा हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन एक साता लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि आइतबार साँझ बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन अवधि फेरि एक साता थप गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गरिएको हो ।
भारतमा पहिलो चरणमा घोषणा गरिएको २१ दिने लकडाउन बैशाख २ गते राति समाप्त हुँदैछ । नेपालले पनि भारतले घोषणा गरेको मितिसम्म लम्ब्याउन लकडाउनको अवधि एक साता थपिएको हो । बैशाख २ पछि भारतमा लकडाउन नगर्ने निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसकेका छन् । बैशाख ३ पछि नेपालमा लकडाउन फेरि लम्ब्याउने वा आंशिक खुला गर्ने भन्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।
भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म एक सय १८ जनाले ज्यान गुमाइसकेका छन् । चार हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
नेपालमा भने अहिलेसम्म ९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको उपचार भइरहेको छ ।
पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्मको समय थप गरिएकोमा दोस्रो पटकको निर्णयबाट २५ चैतसम्म लम्बाइएको थियो । यसअघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप कडाइका साथ लागू गर्ने निर्णय गरेको थियो ।