काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको आवश्यकभन्दा बढी परिमाणमा जम्मा नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकभन्दा बढी ग्यास जम्मा गर्ने कार्य तत्काल रोक्न सर्वसाधारणसँग आग्रह गरेको हो ।
मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले विज्ञप्ति जारी गर्दै ग्यासको आपूर्ति भारतबाट नियमित रूपमा भइरहेकाले जम्मा नगर्न आग्रह गरेकी हुन् । मन्त्रालयकाअनुसार ग्यासको आपूर्ति सहज गर्न यो महिनामा नियमित खपतभन्दा अतिरिक्त ११ हजार टन ग्यास आयात गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
नेपाल आयल निगमकाअनुसार बिहीबार र शुक्रबार गरी पाँच नाकाबाट नेपालमा दुई सय ८९ बुलेट ग्यास भित्रिएको छ । जसमध्ये बिहीबार एक सय २८ र शुक्रबार एक सय ७३ बुलेट ग्यास नेपालमा भित्रिएको छ । निगमका अनुसार सामान्यभन्दा झण्डै डेढ गुणा बढी ग्यास लोड भएर नेपालमा भित्रिएको छ ।
बिहीबार जोगवनी नाकामार्फत पाँच, सुनौली बेलहिया नाकामार्फत १६, रुपैडिया नाकामार्फत ६, रक्सौल नाकामार्फत ९२ र काँकडभिट्टा (पानीटंकी) नाकामार्फत नौ बुलेट आयात भएको थियो । यस्तै शुक्रबार जोगवनी नाकामार्फत १४, सुनौली बेलहिया नाकामार्फत २५, रुपैडिया नाकामार्फत १३, रक्सौल नाकामार्फत एक सय १८ र काँकडभिट्टा नाकामार्फत तीन बुलेट ग्यास आयात भएको छ । यसमध्ये रक्सौल नाकामार्फत बिहीबार आयात भएको ९२ मध्ये ४० बुलेट र शुक्रबार आयात भएको एक सय १८ बुलेटमध्ये ५१ बुलेट राजधानी केन्द्रित छन् ।