काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब एनआरटी क्लबसँग स्तब्ध भएको छ। दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए।
पुलिसले पहिलो हाफमा आक्रामक प्रदर्शन गर्दै गोलका लागि राम्रो अवसर बनाएको थियो। तर पुलिसको प्रयासमा एनआरटीको रक्षापंक्ति बाधक बन्यो। दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको एनआरटीले ७६औं मिनेटमा निर्णायक गोल गरेको थियो। एनआरटीका लागि दर्शन गुरुङले गोल गरे। दर्शनले राजेश परियारको पासमा उत्कृष्ट गोल गरेका थिए। एनआरटीका मिडफिल्डर एरिक विष्ट म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।
जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। एनआरटीले ६ खेलबाट आठ अंक बनाएको छ। आठ अंक नै बनाएको पुलिस गोल अन्तरका आधारमा सातौं स्थानमा छ। एनआरटी गत वर्षको लिगमा अन्तिममा रहेका कारण दुई अंक घटाइएको छ।
यसैगरी दशरथ रंगशालामा सोमबार नै भएको दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्।
च्यासलले तुलनात्मक रूपमा राम्रो खेल्दै बढी मौका बनाएको थियो। तर पनि च्यासलले गोल गर्न सकेन। बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्। एपीएफका राजन गुरुङ म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। बराबरीसँगै ६ खेलबाट ६ अंक बनाएको च्यासल १०औं स्थानमा छ। समान खेलबाट पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा छ।