काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित निकालेको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामाले दुवै गोल गरे । सरस्वतीका विनोद केसीले सान्त्वना गोल फर्काए । निकै प्रतिस्पर्धात्मक खेलमा आशिषले ६३औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । उनले नै इन्जुरी समयमा गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाएका थिए । इन्जुरी समयमै सरस्वतीका विनोद केसीले गोल गर्दै गोल अन्तर कम गरेका थिए ।
जितसँगै एपीएफले चार खेलबाट चार अंक जोडेको छ । एपीएफ लिगको १० औं स्थानमा रहेको छ ।
एपीएफ पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० गोलले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा तेस्रो खेलमा थ्रीस्टारसँग १–० गोलले पराजित भएको थियो ।
सरस्वतीको भने यो लगातार चौथो हार हो । सरस्वती अंकविहीन रहेको छ । सरस्वती पहिलो खेलमा एनआरटीसँग ४–०, जाउलाखेलसँग १–० र नेपाल पुलिस क्लबसँग २–० गोलले पराजय बेहोरेको थियो ।
खेलपछि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले जितले रेलिगेसनबाट बच्न सहज भएको बताए । ‘आजको खेल जित्नै पर्ने दबाब थियो । बराबरीले रेलिगेसन नजिक पुग्ने खतरा थियो’ उनले भने, ‘तीन अंक पाएपछि रेलिगेसन बचियो ।’
सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले खेलाडीले आफ्नो रणनीतिअनुसार खेल्न नसक्दा पराजय बेहोर्नु परेको बताए । उनले टिमको रेलिगेसनबारे अहिले नसोचेको समेत बताए । ‘राम्रो खेल खेले पनि गोल हुन सकेन’, उनले भने ‘रेलिगेसनका बारेमा अझै सोचेको छैनौं ।’