काठमाडौं : नेपालले आज नयाँ मिस्टर नेपाल पाउने भएको छ । आज साँझ अन्नपूर्ण होटलमा हुने ग्रान्ड फिनालेबाट सन् २०२० को मिस्टर नेपाल घोषणा हुने भएको छ । जसमा २२ जनाले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ मिस्टर नेपालको खोजी सुरु गरेको थियो । कात्तिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको अडिसन देशका विभिन्न सहरमा गरिएको थियो । यसैगरी गत आइतबार हिमायन ह्वाइटहाउस कलेजमा ट्यालेन्ट राउन्ड सञ्चालन गरिएको एक्सपोज नेपालका निर्देशक रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
एक्सपोज नेपालकी सीईयो अर्चना थापा, रवीन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज वर्णवाललगायतले छनोट चरणबाट प्रतियोगी छनोट गरेका थिए ।
१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवा सहभागी रहने प्रतियोगितामा पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइएको थियो ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर वल्र्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।