काठमाडौ : शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ । यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १–१ को बराबरीमा खेलेको थियो ।
मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक÷एक गोल गरे । खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गर्नुभएको थियो ।
त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गर्नुभयो । कप्तान विराज महर्जनको ब्याक पासमा उहाँले गोल गर्नुभएको थियो । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाउनुभयो । पराजित फ्रेन्डसले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो । खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिनुभयो ।
एनआरटीको रोमाञ्चक जित
बुधबार नै भएको अर्को खेलमा न्युरोड टिम एनआरटीले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै १० खेलाडीमा सीमित एनआरटीले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन जुनियर निकेनगुए र दर्शन गुरुङले एक÷एक गोल गरे । च्यासलका अमिर श्रेष्ठले सान्त्वना गोल फर्काए ।
खेलमा एनआरटीका दर्शन म्यान अफ दी म्याच चुनिए । जितसँगै एनआरटीले ३ खेलमा ४ अंक जोडेको छ । गत सिजन लिगको पुछारमा रहेको कारण एनआरटीको २ अंक घटेको छ । च्यासलले पनि ३ खेलमा ४ अंक जोडेको छ ।
पहिलो खेलमा संकटालाई २–० ले हराएको च्यासलले दोस्रो खेलमा मछिन्द्रसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोलले पराजित गर्दै लिगमा प्रभावशाली सुरुवात गरेको एनआरटीले दोस्रो खेलमा संकटासँग १–० को हार ब्यहोरेको थियो ।