काठमाडौं : पोखरा प्रिमियर लिगअन्तर्गत बुधबार भएको खेलमा काठमाडौं र विराटनगरले जित हात पारेका छन् । पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पालीमा पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वेन्टी क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सले पहिलो जित हात पारेको छ । पोखराको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई एक सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले ३८ बलमा नौ छक्का र आठ चौकाको मद्दतमा एक सय रन बनाए । यसैगरी जयकिशन कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रन बनाए । कप्तान ज्ञानेन्द्र र कोल्सावालाले तेस्रो विकेटका लागि एक सय ३९ रनको साझेदारी गरेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पाँच विकेटको क्षतिमा एक सय ८५ रनको योगफल खडा गरेको थियो । यो अहिलेसम्म सर्वाधिक ठूलो योगफल हो । धनगढीका कमलसिंह ऐरीले चार तथा सागर ढकालले एक विकेट लिए ।
एक सय ८६ रनको लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा अलआउट हुँदै ७९ रनमा समेटिएको थियो । काठमाडौंको कसिलो बलिङसामु धनगढीका कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । धनगढीका श्रीमन्थ विजयरत्नेले सर्वाधिक १५ रन बनाए । यस्तै रोड्रिगो थोमसले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंका वसन्त रेग्मीले तीन विकेट लिए । यस्तै पवन सर्राफ र सुबोध भाटीले दुई÷दुई विकेट हात पारे ।
तीन खेलमा एक जित निकालेको काठमाडौं अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । यसअघि काठमाडौं उद्घाटन खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो ।
विराटनगर सफल
पोखरा रंगशालामै बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको छ । एक सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा १९।५ ओभरमा एक सय रनमा समेटिएको थियो ।
पोखराका रोहित पौडेलले ३२, कुशल भुर्तेलले २४, आसिफ शेखले १३ रन बनाए । रविइन्दर सिंह, कुशल मल्ल र कप्तान शरद भेषावकर शून्यमै पेभेलियन फर्किएका थिए । विराटनगरका किशोर महतोले तीन तथा जितेन्द्र मुखिया र मोहमद जायद आलमले दुई विकेट लिए । यस्तै साहब आलम, पुनित मेहरा र नोमन खानले एक÷एक विकेट हात पारे ।
विराटनगरका पुनित मेहराले अविजित ६१ रन बनाए । उनले २६ बलमा चार छक्का र पाँच चौका हिर्काए । यसैगरी सुनील धमलाले ३६ र मोहमद जायद आलमले २६ रन बनाए । पोखराका कप्तान भेषावकरले दुई विकेट लिए ।