काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल २४–२६, १२–२५ र १६–२५ को सोझो सेटमा भारतसँग हार व्यहोरेको हो ।
खेलपछि बोल्दै नेपालका प्रशिक्षक जगदीश भट्टले भारतसँग पहिलो सेट जितेको भए खेल जित्छौ भन्ने लागेको बताएका छन् ।
‘हामीले भारतसँग राम्रो गर्ने भनेका थियौ । यदि उनीहरुलाई हामीले पहिलो सेटमा पराजित गरेको भए खेल जित्ने थियौ होला ।’ उनले भने ।
यस्तै टिमकी कप्तान अरुणा शाहीले सागमा सेमिफाइनल पुग्ने आशा भएको बताएकी छिनु । ‘हामीले सेमिफाइनलमा पुग्ने आशा बोकेका थियौ । पहिलो सेटमा त्यति प्रेसर भएन तर पछि भयो । हामीलाई जित्छौ भन्ने नै लागेको थियो तर हा¥यौ ।’
हिजो आयोजक नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै जितको सुरुवात गरेको थियो ।
पुरुषमा भारतले बंगलादेशलाई २५–१८, २५–१४ र २५–१५ तथा पाकिस्तानले माल्दिभ्सलाई २५–१६, २५–२३ र २५–१५ ले हराए ।