काठमाडौं : नयाँ मिस्टर नेपाल अर्थात् ‘मिस्टर नेपाल- २०२०’ को खोजी सुरु भएको छ। आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ मिस्टर नेपालको खोजी सुरु गरेको हो। कात्तिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको अडिसन वीरगन्ज हुँदै सोमबार चितवनमा आयोजना गरिएको छ।
वीरगन्ज अडिसनबाट नौ र चितवनबाट चार युवा फाइनल प्रतिस्पर्धाका लागि छानिएको आयोजक एक्सपोज नेपालकी सीईयो अर्चना थापाले जानकारी दिइन्। दुवै अडिसनमा दुई दर्जनभन्दा बढी सहभागी रहेका थिए।
एक्सपोज नेपालकी सीईयो अर्चना, रवीन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज वर्णवाल, सन्तोषलगायत छनोट चरणको निर्णायक छन्।प्रतियोगिताको छनोट चरणको अडिसन १२ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना हुनेछ। काठमाडौं अडिसनपछि छनोट चरणको अडिसन सकिने आयोजकले जनाएको छ।
१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवा सहभागी रहने प्रतियोगितामा पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो। प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर वल्र्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।