काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत चार खेलको टिकट मूल्य निर्धारण गरेको छ ।
परिषद्ले फुटबल, भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट मूल्य निर्धारण गरेको हो ।
परिषद्ले दशरथ रंगशालामा हुने पुरुष फुटबलका खेल हेर्न साधारण प्यारापिटतर्फ पाँच सय र भीआईपी प्यारापिटमा हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ । पुरुष फुटबल दशरथ रंगशालामा डिसेम्बर १ देखि सुरु हुँदैछ । २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बनेको दशरथ रंगशालामा चार वर्षपछि फुटबल खेल हुन लागेको हो । फुटबलको मैदान तयारी अवस्थामा रहे पनि अहिले भीआईपी प्यारापिटमा छानो राख्ने काम धमाधम भइरहेको छ ।
यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भलिबल र बास्केटबलको टिकट मूल्य पाँच सय रुपैयाँ राखिएको छ । १३औं सागमा सबैभन्दा पहिले सुरु हुने भलिबल डिसेम्बर ३ तारिखसम्म सञ्चालन हुनेछ । भलिबल प्रतियोगितामा सहभागी हुन अधिकांश राष्ट्रका खेलाडी नेपाल आइसकेका छन् । भलिबल सम्पन्न भइसकेपछि डिसेम्बर ५ देखि बास्केटबल सुरु हुनेछ । फुलकोर्ट बास्केटबल कभर्डहल र थ्री बाई थ्री बास्केटबल राखेप हाताकै मिनि कभर्डहलमा सञ्चालन हुनेछ ।
यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटको टिकट मूल्य दुई सय देखि पाँच सय रुपैयाँसम्म राखिएको छ ।
क्रिकेटका खेल हेर्न चाहनेले समूह चरणको खेलका लागि दुई सय र सेमिफाइनल र फाइनल खेलका लागि पाँच सय रुपैयाँ टिकट मूल्य राखिएको छ । पुरुष क्रिकेट डिसेम्बर ३ देखि कीर्तिपुरमा सुरु हुनेछ । महिला क्रिकेट भने पोखरामा आयोजना हुँदैछ ।
राखेपले प्रतियोगिताको प्रशारण अधिकार भने भारतीय कम्पनी नक्षेत्र न्युजलाई बेचिसकेको छ । प्रशारण अधिकार किनेर नक्षेत्रले प्रत्यक्ष प्रशारणका लागि नेपाल टेलिभिजनसँग सहकार्य गरेको छ ।
Previous Article
जापानी जागिरे महिलालाई चश्मा लगाउन प्रतिबन्ध
Next Article