काठमाडौं : नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ । अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी छलफल गर्न चीनको नेसनल रेल्वे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटिभको नेतृत्वको टोली सोमबार काठमाडौं आउँदै छ । टोलीसँग काठमाडौं केरुङ मार्गको सम्भाव्यताबारे तथ्यसहित छलफल हुने नेपाली पक्षले जानकारी दिएको छ ।
चिनियाँ टोलीसँग नेपाली पक्ष काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन कार्यान्वयनमा लग्ने विषयमा केन्द्रित हुने भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयको गुणस्तर तथा वैदेशिक सहयोग महाशाखाका सहसचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए । ‘काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता गर्न चीन सहमत छ । अब अध्ययन प्रक्रिया अघि बढाउने हो’, सहसचिव सिग्देलले भने, ‘सम्भाव्यता अध्ययनकै विषयमा केन्द्रित रहेर वार्ता गरिनेछ । छिटो सम्पन्न गर्न नेपाली पक्षबाट उपलब्ध गराउनैपर्ने विषयको सम्भवतः यही वर्ताबाट टुंगो लाग्नेछ ।’
असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । अन्तरदेशीय रेल्वे सेवा विस्तार सम्बन्धमा प्रत्येक वर्ष दुई पटक नेपाल–चीनबीच रेल सेवा विस्तारसम्बन्धी द्विपक्षीय वार्ता हुँदै आए पनि यसले कुनै कामको मोडल तय गर्न सकेको छैन ।
असारमा चौथो चरणको वार्ता चीनमा आयोजना गरिएको थियो । यो पटकको वार्ता काठमाडौंमा हुँदैछ । नेपाल र चीनबीच ०७२ सालमा व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण समझदारी भएपछि यसको कार्य पनि अघि बढेको हो । चौथो वार्तामा चीनका तर्फबाट निर्माण गरिएको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदनको ब्रिफिङ नेपाली पक्षलाई गराएको थियो । वार्तामा चिनियाँ टोलीले सम्भाव्यता अध्ययनका लागि रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, निकुञ्ज र जंगलको विवरण माग गरेको थियो । अबको वार्तामा पनि चिनियाँ पक्षले यही विषयमा नेपालीबाट सहजीकरणको माग राख्ने सम्भावना छ । यसका लागि मन्त्रालयले एक सहसचिवको नेतृत्वमा कमिटी गठन गर्नेछ । कमिटीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ पक्षले माग गरेको विवरण संकलन गर्ने छ ।
सम्भाव्यता अध्ययनसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि चीनकै आर्थिक तथा प्राविधि सहयोगमा निर्माण गर्न आग्रह गरिने भएको छ । चीनले निर्माण गरेको पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–केरुङ रेलमार्ग जटिल भौगोलिक संरचनामा निर्माण गर्नुपर्नेछ । रसुवागढी सीमा नाकादेखि काठमाडौंसम्मको दूरी ७२.२५ किलोमिटर हुनेछ । रेलमार्गको ९८.५ प्रतिशत खण्ड पुल तथा सुरुङमा रहनेछ । यसमा चारवटा स्टेसन रहनेछ भने सातवटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । आयोजना सम्पन्न गर्न नौ वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ । रेलमार्ग निर्माण गर्न करिब तीन खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
सम्भाव्यता अध्ययन चीनबाट हुने भए पनि डीपीआर निर्माणका लागि सहमति हुन बाँकी छ । डीपीआरसम्म चीनले नै निर्माण गरिदिने प्रति नेपाली पक्ष आश्वस्त देखिएका छन्। डीपीआर तयार भइसकेपछि मात्र रेलमार्ग निर्माणको लगानीको मोडालिटीको बहस छेडिनेछ । परियोजनामा लगानीका लागि अनुदान वा ऋण के र कति हुने विषयमा उच्चस्तरीय छलफल पनि अघि बढेको छैन ।