काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रले प्रदेश प्रमुखको बर्खास्ती गरेको ठहर गरेको छ ।
बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्र भएको निष्कर्ष निकालेको हो । कांग्रेसले नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरित रहेको ठहर पनि गरेको हो ।
कांग्रेसद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर आजको बैठकले गरेको छ ।’
कांग्रेसले सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर सहमतिको राजनीतिलाई समेत बिथोल्न खोजेको समेत आरोप लगाएको छ । बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई ं कम्युनिष्ट सत्ता असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रुपमा लिएको छ ।
‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा संघीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको बताएको छ ।
Next Article